काठमाडौं । आज साउन १० गते । आजभन्दा ठीक ७ वर्षअघि २०७५ साल साउन १० गते कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । तर, घट्ना घटेको ७ वर्ष पूरा भैसक्दापनि पीडित परिवारले न्याय पाउन सकेको छैन् । अहिलेसम्म राज्यले दोषी पत्ता लगाएर कारबाही गर्न सकेको छैन ।
यो घट्नाले नेपालको सिंगो राज्य संयन्त्रको असफलता झल्काउँछ । यो ७ वर्ष ५ जना गृहमन्त्री फेरिए । घट्ना हुँदा नेकपाको सरकार थियो । प्रधानमन्त्रीको जिम्मेवारीमा अहिलेकै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली थिए । गृहमन्त्रीमा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल थिए । त्यसयता ५ जना व्यक्ति गृहमन्त्री बने ।
०७९ सम्म नेपाली कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री थिए । त्यसपछि ०७९ को पुषमा बनेको प्रचण्ड नेतृत्वको सरकारमा नयाँ दल रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री बने । यसअघिका गृहमन्त्रीहरुझैं रविले पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउने सार्वजनिक उद्घोष गरे । उनी सरकारबाट बाहिरिनुपर्यो । पछि सत्तारोहण हुँदापनि गृहमन्त्री नै बने । तर, उनले पनि यो घट्नामा दोषी पत्ता लगाउन सकेनन् । त्यसपछि अहिले कांग्रेस एमालेको नयाँ सरकार बनेको छ । यो सरकारमा कांग्रेसकै रमेश लेखक गृहमन्त्रीको जिम्मेवारीमा छन् । उनी निर्मलाकै गृहजिल्ला कञ्चनपुरबाट प्रतिनिधित्व गर्छन् । यो सरकार गठन भएको एक वर्ष पूरा भैसकेको छ । तर, गृहमन्त्री लेखकले पनि यो घट्नाबारे अहिलेसम्म अनुसन्धान गरेको वा भएको प्रगतिबारे केही खुलाएका छैनन् ।
लोकतान्त्रिक गणतन्त्र नेपालमा यस्तो आपराधिक घट्ना घटेको ७ वर्ष हुँदापनि अहिलेसम्म अनुसन्धानमा प्रगति नहुँदा पीडित परिवार निराश छन् । अहिले त अधिकारकर्मीहरुले पनि यो घट्ना बिर्सिएका छन् । अहिले बलियो सरकार छ । शक्तिशाली सरकारले पनि यो घट्नाको विस्तृत अनुसन्धान गरेर दोषी पत्ता लगाउन गाम्भिर्यता देखाएन भने भोलिको समाज कस्तो होला ? भन्ने प्रश्न उब्जिनेछ । घट्ना हुँदा मुलुकको बागडोर सम्हालेका प्रधानमन्त्री ओलीलाई नै अहिले समयले देशको नेतृत्व गर्ने ठाउँमा ल्याएको छ । यो घट्ना ओलीको लागि पनि न्याय दिलाउनैपर्ने विषय हो । राज्यले यस्तो संवेदनशील विषयमा गम्भीरता देखाउनुपर्छ । सभ्य समाज र कानूनी राजको वातावरण बनाउनुपर्छ । निर्मलाका आमाहरुले न्याय पाउने आश मार्नुभएन ।
